Wednesday 9 May 2012

आशावादी व्यक्तिको मुटु सधैं स्वस्थ

खुसी रहनाले मुटु रोगको जोखिम कम हुन्छ । अर्थात् कुनै पनि व्यक्ति जति आशावादी हुन्छ, उसको मुटु त्यति नै स्वस्थ, निरोगी रहने हुन्छ ।
यो अनुसन्धान हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेका हुन् । उनीहरू दुई सयभन्दा बढी अध्ययनको समीक्षापछि यो निष्कर्षमा पुगेका हुन् । अध्ययन अनुसार, आशावादी, सकारात्मक सोचले भरिएका व्यक्तिहरू सधैंजसो स्वस्थ त हुन्छन् नै, उनीहरूमा कोलेस्ट्रोल, उच्च रक्तचाप जस्ता रोगको जोखिम समेत कम हुन्छ ।
सबैभन्दा बढी आशावादी व्यक्तिमा रोगको जोखिम ५० प्रतिशतभन्दा कम हुन्छ । यस्तै, अध्ययनमा संलग्न रहेका आशावादी व्यक्तिहरूमा बढी व्यायाम र सन्तुलित भोजनप्रति रुचि समेत पाइयो ।
बेसार खानाले हुँदैन हृदयाघात
हृदयाघात रोकथाममा बेसार बडो उपयुक्त हुन्छ । यसमा एन्टिअक्सिडेन्ट एवं एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । त्यसैले बेसार सेवन गरे मुटूको शल्यक्रिया पछि हुने एट्याकको खतरा कम हुन्छ । बेसार खानाले हृदयाघातमा ६५ प्रतिशतसम्म कमी आउन सक्छ ।
अमेरिकन जर्नल अफ कार्डियोलजीमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ- मुटुको धमनीमा रगतको प्रवाह सुचारु गर्न बाइपास शल्यक्रिया गरिएको छ भने यो शल्यक्रिया गर्दाताका सामान्य रूपमा मुटुको गतिविधि शून्य रहन्छ । त्यति बेला रगतको सञ्चार बन्द हुनाले पछि मुटुलाई क्षति पुग्छ, भविष्यमा हृदयाघात हुन सक्छ । नयाँ अध्ययन अनुसार, रोगीलाई पारम्परिक औषधिसँगै बेसार दिनाले यस्तो जोखिम कम गर्न सकिन्छ ।
यो अध्ययन अन्तर्गत सन् २००८ देखि २०११ सम्म शल्यक्रिया गराएका १ सय २१ मुटु रोगीमा अनुसन्धान गरियो । उक्त प्रतिवेदन अनुसार, अनुसन्धानको नेतृत्वकर्ता एवं थाइल्यान्डको चियाङ मई विश्वविद्यालयका वानवरङ वोगचेरोइनले यो परिणामलाई पुनर्पुष्टि गर्नुपर्ने आवश्यकता रहेको समेत जनाएका छन् ।
अध्ययनमा सहभागी ती सबै व्यक्तिहरूमध्ये आधालाई शल्यक्रियाभन्दा तीन दिन अघिदेखि पाँच दिनपछि सम्म तीनदेखि चार पटकसम्म एक एक ग्राम बेसारको क्याप्सुल दिइएको थियो । बाँकी आधा रोगीलाई त्यही समय बिनाबेसारको क्याप्सुल अर्थात् प्लेसेवो दिइएको थियो ।
जुनजुन रोगीलाई बेसारको क्याप्सुल दिइएको थियो, उनीहरूमध्ये १३ प्रतिशत एवं नदिएकामध्ये ३० प्रतिशत रोगीलाई पछि हृदयाघात भयो । अनुसन्धानकर्ताहरूको अनुसार, बेसार सेवनले भविष्यमा हृदयाघातको जोखिममा ६५ प्रतिशतसम्म कमी आउन सक्छ ।  
मसलायुक्त करीमा मुटुको रहस्य
जिब्रोका लागि स्वादिष्ठ मसलायुक्त करी मुटुका लागि पनि स्वस्थकर हुन्छ ।
हङकङको चाइनिज विश्वविद्यालयमा भएको यो अनुसन्धान अनुसार, मसलायुक्त करीमा प्रायःजसो मरिच उपयोग हुने गर्छ । मरिचले कोलेस्ट्रोलको स्तरलाई कम गर्छ । यो रक्तवाहिनी नलीका लागि समेत लाभदायक छ । खुर्सानीलाई पिरो बनाउने तत्त्व क्याप्सिकमले मुटुको रोग टाढा राख्नमा सघाउँछ ।
अध्ययन अनुसार, मसलेदार पदार्थ स्वास्थ्यका लागि लाभदायक हुन्छ । मसलाले प्रोस्टेट र प्याङक्रियाजको टयुमरलाई न्यून सगर्न सघाउँछ । यस्तै, यसले पेन किलरको काम गरेर दम, सामान्य रुघाखोकी र फ्लूबाट राहत दिने गर्छ । यसको उपयोग तौल कम गर्नसमेत गरिने अध्ययनमा उल्लेख छ ।

No comments:

Post a Comment